काठमाडौं । यात्रुको चाप बढी हुने रुटमा विशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाइ गर्दै बढी भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ।
ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ।
महाशाखाले क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरुको अनुगमन र कारबाहीमा तीव्रता दिएको बताएको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्व लक्षित विशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारबाही अभियान चलाएको जानकारी दिए।
उनले यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका बसपार्क एवं मुख्य भिडभाड हुने चोकहरुमा चेकजाँच गरि स्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढी भाडा लिने गरे नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए।
उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार ४५१ वटा सवारी साधनलाई चेतावनी स्वरुप सुधार गर्ने प्रतिबद्धतापश्चात छाडेको समेत जानकारी दिए।
महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमताभन्दा बढी यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नसमेत सबै यातायात व्यवसायी एवं यात्रु वर्गमा अनुरोध समेत गरेको छ।