गोरखा । कोरोना संक्रमण तिब्र भएको भन्दै स्वास्थ्य र सावधानीका मापदण्डलाई कडाईका साथ पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बुधबार एक सूचना जारी गर्दै चाडबाडको समयमा ठुलो संख्यामा मानिसहरुको आवतजावत हुने भएकोले सजग रहन अनुरोध गरेकी छिन् ।
‘कुनै संक्रमितमा लक्षण देखिएमा अस्पतालमा सम्र्पक राखी स्वास्थ्यकर्मीको सल्लाह अनुसार गर्नुहुन र स्वाब संकलन गरी परिक्षणको रिर्पोट नआएका तथा लक्षण नभएका संक्रमितहरु जथाभावी हिडडुल नगरी स्वास्थ्य मापदण्डको पालना गरी आफ्नै घरमा वा आफ्नो पालिकाले तय गरेको स्थानमा बस्नु होला,’ सूचनामा भनिएको छ ।
‘नजिकिदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुमा हुने नित्य पुजापाठ गनुपर्ने बाहेकका मानिसहरु भेला हुने गरी कुनै पनि उत्सव, कार्यक्रम, भजन, शुभकामना आदानप्रदान, खेलकुद प्रतियोगिता जस्ता कुनै पनि कार्यक्रम तथा क्रियाकलाप नगर्नु नगराउनु होला,’ उक्त सूचनामा भनिएको छ । यदी सूचनालाई अटेर गरी त्यस्ता कार्य गरेको पाईएमा संक्रमण रोग ऐन, २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।