इडियन प्रिमियम लिग (आईपिएल) अन्र्तगत सोमबार भएको खेलमा कोलकता नाइट राइडर्समाथि रोयल च्यालेन्जर्स बेंग्लोरले फराकिलो अन्तरको जित निकालेको छ।
शारजाहमा भएको खेलमा बेंग्लोरले कलकतालाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २ विकेटको क्षतिमा १ सय ९४ रन जोड्यो।
बेंग्लोरका लागि एबी डी भिलियर्सले नटआउट ७३ रन जोडे। उनले ३३ बलमा ५ चौका र ६ छक्का हिर्काए।
कप्तान विराट कोलहीले नटआउट ३३ रन जोडे।
त्यसअघि ओपनरद्वय आरोन फिन्च ४७ रन र देवदुत पडिकल ३२ रन जोडेका थिए।
१९५ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्र जोड्न सक्यो।
ओपनिङमा मौका पाएका टम बनटनले ८ रन भन्दा बढी जोड्न सकेनन्। अर्का ओपनर शुभमन गिलले टिमका लागि सर्वाधिक ३४ रन जोडे।
लगातार विकेट गुमाएको कोलकताका लागि आन्द्रे रसेसल र राहुल त्रिपाठीले १६/१६ रन जोड्दा ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा बेंग्लोरका क्रिस मोरिस र वासिङटन सुन्दरले २/२ विकेट लिए।
योसँगै आइपिएलमा पहिलो चरणका खेल सकिएका छन्। सबै टिमले समान ७/७ खेल खेलका छन्। जसमा शीर्ष स्थानको मुम्बई, दोस्रो स्थानको दिल्ली र तेस्रो स्थानको बेंग्लोरले समान १०/१० अंक जोडेका छन्। कोलकता ८ अंकसहित चौथो स्थानमा छ।
पाँचौ स्थानको हैदरावाद र छैटौं स्थानको राजस्थानको ६(६ अंक छ। सातौं स्थानको चेन्नईले ४ अंक जोडेको छ भने पुछारको पञ्जावको २ अंक मात्र छ।