• सोमबार, साउन ११ २०८३

संक्रमण बढेसँगै गोरखामा फेरी सुरु भयो बन्दको सिलसिला


सोमबार, असोज २६ २०७७
800
Shares

गोरखा। जिल्लाका विभिन्न कार्यालय र समुदाय स्तरमा कोरोना संक्रमण तिब्र भएसँगै बन्दको शिलशिला पुनः सुरु भएको छ । लकडाउन र निषेध आज्ञा हटेपछि केही दिन यता सामान्य भएको जनजिवन फेरी प्रभावित हुन थालेको छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारबाट जिल्लाका दुई स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ र पालुङटार नगरपालिकाका केही कर्मचारी कोरोना पोजेटिभ भएपछि दुबै स्थानीय तहले मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको घोषणा गरेका छन् ।

ती कर्मचारीको सम्पर्कमा आएका हुन सक्ने व्यक्तिको पहिचान गरी कन्ट्याक्ट टे«सिङ गर्नका लागि अशोज ३० गते सम्म गोरखा नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । सम्पूर्ण वडा कार्यालयहरु पनि बन्द गरिएको छ ।

गोरखा नगरपालिकाले एक सार्वजानिक सूचना जारी गरी सर्बसाधारणलाई पनि सावधानी अपनाउन आग्रह गरेको छ । सकेसम्म घर बाट बाहिर ननिस्कन यदी निस्कन परे आवश्यक सर्तकता अपनाउन आग्रह गरिएको छ । साथै बैंक, पसल तथा सार्वजनिक स्थलमा समेत भिडभाड नगर्न सूचना मार्फत अनुरोध गरिएको छ ।

उता पालुङटार नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण भएको छ । कर्मचारी र समुदायस्तरमा पनि कोरोना संक्रमण बढेसँगै उक्त नगरपालिकाले पनि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

‘केही वडा सचिव र नगरपालिकाका कर्मचारीकै रिर्पोट पोजेटिभ आयो । उहाँको सम्र्पकमा आएका मानिसहरुको कन्ट्याक्ट टे«सिङ गर्न र आवश्यक सचेतना अपनाउन केही दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छौं,’ नगरप्रमुख दिपकबाबु कंडेलले भने, ‘सिकाइ केन्द्रका रुपमा स्कूलहरु खुलेका थिए । त्यसलाई पनि केही दिन स्थिगित गरिएको अबस्था छ ।’

आइतबार बसेको कार्यपालिका बैठकले कार्तिक १ गतेसम्म मातहतका सबै कार्यालय र वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेकोे प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए । विद्यालयहरु भने आगामी मंसिर ६ गतेसम्म बन्द गर्ने निर्णय भएको उनले बताए ।

गाउँमा कोरोना संक्रमित थपिएसंगै बुंकोटका विद्यालय फेरी बन्द भएका छन् । आइतबार शहिद लखन गाउँपालिका ७ मा तिन जना संक्रमित पुष्टि भएसंगै वडा नम्बर ७ र ८ का सम्पूर्ण विद्यालय बन्द गरिएको हो । आइतबार बेलुका बिधार्थी सिकाई सहजिकरण ब्यबस्थापन समितीको आकास्मिक बैठकबाट साविकको बुंकोट भर विद्यालयलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी लगायत वडाध्यक्षहरु श्रेष्ठ, काशिनाथ अम्गाई, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय बुद्धिजिवी लगायत सरोकारवालाहरुको सहभागिता भएको बैठकबाट संक्रमित देखिएकाको सम्पर्कमा पुगेकाको कन्ट्याक्ट ट्रेसिङ गरी रिपोर्ट नआञ्जेलसम्मका लागि सिकाई कक्षा बन्द गर्ने निर्णय भएको बताइएको छ । आइतबार बुंकोटका ४७ ,४५ र २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

प्रहरीमा कोरोना देखिएपछि १२ किलो चौकी पनि बन्द छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुमा पनि कोरोना देखिएपछि आवश्यक सतर्कता अपनाएर सेवा प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यसैवीच सिरानचोक गाउँपालिकाले भने सेवा सुचारु गरेको छ । कर्मचारी र जनप्रतिनिधि सबैको रिर्पोट नेगेटिभ आएसँगै बन्द गरिएका सबै कार्यालयहरु सञ्चालन आएका हुन् । त्यहाँ कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमण भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार