काठमाडौं। सीमा प्रहरी चौकीका सबै प्रहरी कारबाहीमा परेका छन् । लापरबाही बढ्न थालेको भन्दै धनगढी उप—महानगरपालिका १४ बहुलियास्थित सीमा प्रहरी चौकी फूलबारीमा कार्यरत सई गोपाल कार्कीसहित १० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको हो । उनीहरुले पदको दुरुपयोग गरेको आरोप लागेको छ ।
भदौ २८ गते सोही चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परे पनि प्रहरीले लापरबाही गरेको ठहर गर्दै ३ प्रहरीलाई कारबाहीको सिफारिस गरिएको थियो ।
केही समयअघि सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको समेत आरोप लागेपछि उनीहरूलाई जिल्ला झिकाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए ।
सो चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए । जिल्ला तानिएका १० जनामाथि थप छानबिन हुने उनले बताए ।
प्रहरीले लापरबाही बढेको, पदको दुरुपयोग गरेर जिल्ला तानिएको बताए पनि स्थानीयले भने तस्करसँग मिलेर असुली धन्दामा गरिरहेको आरोप लगाएका छन् ।