गोरखा । उत्तरी गोरखाको लाप्राकमा शनिवार देखि हाटबजार सुरु भएको छ ।
स्थानीय उत्पादनको बजारिकरण गराउने उदेश्यका साथ धार्चे गाउँपालिका ४ लाप्राकको समन्वयमा हाटबजार व्यवस्थापन समितिले हाटबजार सञ्चालन गरिएको वडा अध्यक्ष राज गुरुङले जानकारी दिए ।
‘यहाँ झण्डै १०० वटा टनेलहरुमा तरकारी खेति गरिएको छ । लाप्राकमा आलु, सिमी लगायतको राम्रो खेति हुन्छ,’ उनले भने, ‘किसानहरुले बेच्ने बजार पाउनु भएन भन्ने गुनासो गर्नुभयो । अनि हामीले कस्तो हुँदो रहेछ भनेर हाटबजार सञ्चालनमा ल्याएका हौं ।’
हाटबजारमा त्यहाँ उत्पादन हुने तरकारी, अन्नपात, घरेलु उत्पादन र अत्यावश्यक अन्य समाग्रीहरु पनि बेचविखन गर्ने बताइएको छ । लाप्राकको सबिचौतारा परिसरमा हरेक महिनाको २ र १६ गते हाटबजार सञ्चालन हुने गुरुङले बताए ।
कोरोना महामारीका कारण अहिले आवश्यक सतर्कता अपनाएर स्थानीयहरुलाई मात्र खरिद बिक्रिको अनुमती दिएको छ । स्थिती सहज भएपछि त्यसलाई व्यापक बनाउने आयोजकको लक्ष्य छ । वडा कार्यालयको समन्वय, पुर्णिमा परियोजनाको आर्थिक तथा फेस नेपालको प्राविधिक सहयोगमा हाटबजार सञ्चालनमा आएको उनले बताए ।