गोरखा सदरमुकामका अधिकांश खाद्दान्नका होलसेल पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले गोरखामा शुक्रबार गरेको बजार अनुगमनका क्रममा अधिकांश खाद्दान्न पसलहरुले मापदण्ड मिचेर सञ्चालन गरिरहेको पाइएको हो ।
अनुगमनका क्रमा विभागले ९ वटा पसललाई जरिवाना समेत गरेको प्रम्ख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए । जरिवाना तोकिएका अधिकांश पसलले सदरमुकाममा मात्रै होइन, जिल्लाका अधिकांश स्थानमा खाद्दान्न ढुवानी गर्दै आएका छन् ।
अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी खाद्दान्न विक्रि वितरण गरेको भन्दै श्रेष्ठ किराना स्टोर्स, कमला स्टोर्स, बिशाल न्यू किराना स्टोर्सलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै राना किराना स्टोर्स, खोप्लाङ्गी सप्लायर्सलाई १५/१५ हजार जरिवाना तोकिएको छ भने जोशी क्वालिटी किराना, दिप्सम स्टोर्स, सौगात स्टोर्सलाई १०/१० हजार जरिवाना तोकिएकोे प्रजिअ भट्टराईले बताए । यसैगरी श्रीराम किराना पसललाई पाँच हजार जरिवाना गरिएको छ । अनुगमन टोलीले २० वटा पसलको अनुगमन गरेको थियो ।

यी बाहेकका पाँच वटा पसललाई सचेत गराइएको र छ वटा पसललाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको प्रजिअ भट्टराईले बताए । अनुगमन गरिएका अधिकांश पसलहरुले ढकमा अखाद्य तथा म्याद गुर्जेका बस्तु बिक्री गरेको, सरसफाई राम्रो सँग नगरेको, समस्या देखिएको, मुल्य सूची नराखेको लगायत पाइएको भट्टराईको भनाई छ ।