गोरखा । बजारमा अत्याधिक मात्रामा भइरहेको कालोबजारीले उपभोक्ता ठगिएको भन्दै यसमा रोक लगाउन उपभोक्ता हित संरक्षण मञ्च गोरखाले प्रशासनको ध्यानाकर्षण गराएको छ ।
मञ्चले उपभोक्ताको हक अधिकार प्राप्तिका लागि सहयोग गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
बुधवार मञ्चका अध्यक्ष किशोरजंग थापाले सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
अहिले बजारमा भइरहेको कालोबजारी, मूल्य भन्दा बढीमा सामग्री बिक्री, कृत्तिम अभाव सिर्जना गरेर मूल्य वृद्री गरीरहेको मञ्चको गुनासो छ ।
बिभिन्न १६ बुँदा उल्लेख गरी संघ प्रदेश र स्थानीय सरकारले अनुगमनलाई निरन्तरता र कडाई गर्नुपर्ने, खरिद बिक्री मूल्यको प्रभावकारी अनुगमन हुनुपर्ने, उपभोक्ताका लागि सस्तो बजार स्थापनामा भूमिका खेल्नुपर्ने विषयमा जोड दिइएको मञ्चका अध्यक्ष थापाले बताए ।
उपभोक्ता संरक्षण ऐन अन्र्तगत कसुरलाई अनुसुची १ मा राख्नुपर्ने, गुणस्तर र नापतौलका उपकरणमा ध्यान दिनुपर्ने, बजारमा एकाधिकार कायम गर्न खोज्नेलाई निरुत्साहित गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।