• शुक्रबार, साउन १५ २०८३

नमुना बन्दै महेन्द्र मावि कुन्दुर


बिहिबार, असोज २२ २०७७
2.2K
Shares

गोरखा । गोरखा नगरपालिका १२ कुन्दुरको महेन्द्र माध्यामिक विद्यालयलाई नमूना विद्यालयको रुपमा अघि बढाइएको छ ।

नेपाल सरकारको छनौंटमा परेको उक्त विद्यालयलाई प्रविधियुक्त बनाउँदै नमूना विद्यालय निर्माण गर्न लागिएको सहायक प्रधानाध्यापक मिनबहादुर नेपालीले जानकारी दिए । ‘हाम्रा सबै शिक्षकहरुलाई ल्यापटप उपलब्ध गराएका छौं ।

विद्यालयमा ई–लाइब्रेरी तयार भएको छ । प्रयोगशालाहरुलाई आधुनिक बनाइएको छ,’ उनले भने, ‘साधन स्रोत र प्रविधिले जिल्लाकै नमूना विद्यालयको रुपमा हाम्रो स्कूल तयार भएको छ ।’ नमुना विद्यालय सञ्चालनका लागि संघिय सरकारले आर्थिक वर्ष २०७६/७७ मा गोरखा नगरपालिका मार्फत उपलब्ध ५० लाख रकम उपलब्ध गराएको उनले बताए ।

उक्त रकम मध्येबाट २९ लाख ४० हजार २६० रुपैयाँले सुचना तथा प्रविधी सम्बन्धी सामाग्री खरिद गरिएको विद्यालयले जनाएको छ । सोही रकमबाट २५ वटा ल्यापटप कम्प्युटर, २० वटा डेक्सटप कम्प्युटर, १८ वटा सिसी क्यामेरा, ई लाइब्रेरी स्थापना, एक थान स्मार्टबोर्ड, तिन वटा प्राजेक्टर खरिद, विद्यालयको वेवसाइट निर्माण एवं सञ्चालन, इन्टरनेट जडान समेत गरिएको उनले बताए ।

कम्प्युटर ल्याब व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, खेलकुद सामाग्री, शैक्षिक सामाग्री, सांस्कृतिक तथा सांगितिक सामाग्री खरिद, कार्यालयको कोठा व्यवस्थापन, बालमैत्री कक्षा व्यवस्थापन र पूर्व प्राथामिक कक्षा व्यवस्थापनमा पनि उक्त रकम खर्च गरिएको छ । शिक्षकहरुलाई गणित, विज्ञान, अग्रेजी, सुचना तथा सञ्चार प्रविधि सम्बन्धी २२ दिने तालिम समेत प्रदान गरिएको विद्यालयले जनाएको छ ।

बुधबार एक कार्यक्रमका वीच सबै शिक्षकलाई निशुल्क एक÷एक थान ल्यापटप कम्प्युटर प्रदान गरिएको छ । ‘अहिलेको विषम परिस्थितीमा शिक्षकहरु भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्ने अबस्था छैन,’ उनले भने, ‘प्रविधिको माध्यमबाट हामी घरमै बसेर विद्यार्थीहरुलाई पढाउन सक्छौं । त्यसका लागि सहज होस् भनेर ल्यापटप वितरण गरिएको हो ।’ गुणस्तर लेखाजोखा समितिका अध्यक्ष बुद्धिबहादुर कुमालको अध्यक्षतामा एक कार्यक्रम गरी विद्यालयका २९ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ ।

२५ वटा नयाँ र ४ वटा विद्यालयमा मौज्जाद रहेको ल्यापटप शिक्षकहरुलाई उपलब्ध गराइएको उनले बताए । सो अबसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक गोपालबाबु मरहट्टाले शिक्षकहरुले ल्यापटपको सही सदुपयोग गरी विद्यार्थीहरुलाई प्रभावकारी रुपमा पढाउन आग्रह गरेका थिए ।

६० प्रतिशत विद्यार्थी प्रविधिको पहुँचमा रहेको विद्यालयले दाबी गरेको छ । ‘हामीले स्थलगत सर्भे पनि गरेका छौं ६० प्रतिशत विद्यार्थीहरु इन्टरनेट र प्रविधिको पहुँचमा हुनुहुन्छ,’ सहायक प्रअ नेपालीले भने, ‘बाँकी ४० प्रतिशतलाई पनि मोबाइलको माध्यमबाट जोड्दै छौं । उहाँहरुको फोन नम्बर नेपाल टेलिकममा उपलब्ध गराएर सहुलियतको इन्टनेट सेवा जडान गर्न विद्यालयले पहल गरिरहेको छ ।’ आइतबारबाट अनलाइन मार्फत पढाउने तयारी गरिएको विद्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार