गोरखा । सार्वजानिक यातायातका साधनले अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड समेत उल्लंघन गरेको भन्दै गोरखाका नागरिक समाजले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नागरिक साझा सवाल गोरखाले जिल्लामा छोटो तथा लामो दुरीका सार्वजानिक यातायातका साधनले स्वास्थ्य सुरक्षा नअपनाउदा काेरोना जोखिम झनै बढेको भन्दै प्रजिअ तिर्थराज भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
साझा सवालका संयोजक स्थानेश्वर दुवाडीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारले तोकेको मापदण्ड उल्लंघन गर्दा कोरोना भाइरसको संक्रमण जोखिम उच्च भएको बताइएको छ ।
त्यस्तै नागरिक समाजले मापदण्ड पालना हुन नसके पूरानै भाडा दर कायम गराउने ब्यवस्था मिलाउन समेत प्रजिअ भट्टराईसंग माग गरेका छन् ।
त्यस्तै सरकारी तथा नीजि विद्यालयले समेत स्वास्थ्य सुरक्षा नअपनाई पठनपाठन सुरु गरेकाले तत्काल अनुगमन गरी मापदण्ड कार्यान्वयन गराउने वातावरण सृजना गर्न माग गरिएको संयोजक दुवाडीले बताए ।
गोरखा सदरमुकाम लगायत जिल्लाभरका अधिकांश बजारहरुमा म्याद सकिएका अखाद्य सामाग्रीहरु बिक्रि वितरण भइरहेको, दशै तिहार लगायतका चाडवाडलाई मौका छोपेर कालोबजारी हुन सक्ने भन्दै तत्काल प्रभावकारी रुपमा तिनवटै सरकार मिलेर बजार अनुगमन गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझाउन नागरिक साझा सवाल गोरखाका संयोजक दुवाडी सहित प्याब्सनका जिल्ला अध्यक्ष सीताराम तिवारी, गैसस महासंघ गोरखाका सचिव हरि देवकोटा, सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँ लगायतको टोली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको समेत सहभागिता रहेको थियो ।
हेर्नुस नागरिक साझा सवालले बुझाएको ध्यानाकर्षण पत्र

