काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। विशाल अन्तरको यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।
दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका दिल्लीका अक्षर पटेल म्यान अफ द म्याच भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।
मार्कस स्टोइनिस टप स्कोरर रहे । २६ बल सामना गरेका उनले नटआउट ५३ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।
पृथ्वी शाले २३ बलमा ४२, शिखर धवनले २८ बलमा ३२ र रिसभ पन्तले २५ बलमा ३७ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।