• आइतबार, भाद्र ७ २०८३

पहिलोपटक एक महिलाले जन्माइन् पाँच शिशु, एकको मृत्यु


सोमबार, असोज १९ २०७७
740
Shares


एक महिलाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पाँच जना शिशुलाई जन्म दिएकी छिन्।

पाँचमध्ये एक जना शिशुको भने अपरेसन अगावै मृत्यु भएको अस्पतालले जनाएको छ।

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी अस्पतालकी निर्देशक संगीता मिश्रले बताइन्।

जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो।

अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्।

उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई एनआइसियूमा राखिएको छ।

सोमबार बिहान ९ः४१ मा अपरेसनमार्फत् शिशु निकालिएको डा. सुवेदीले बताए।

अपरेसनअघि भिडिओ एक्सरे गर्दा चार शिशुमात्र देखिएका थिए। एक शिशुको मृत्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको सुवेदीले बताए।

पहिलोपटक गर्भवती तामाङले पाँच शिशुलाई एकैसाथ जन्म दिँदा चिकित्सक पनि छक्क परेका छन्।

‘यो निकै दुर्लभ घटना हो, मैले चाहिँ नेपालमा पाँच शिशु जन्मेको थाहा पाएको थिइनँ,’ सुवेदीले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार