मोहसिन अलि मियाँ
गोरखा । गोरखा नगरपालिका वडा नम्बर १२ देउराली गाउँका राजकुमार भण्डारी वेपत्ता भएको आज १९ दिन बित्यो । परिवार स्रोतका अनुसार गत भदौ ३० गते बिहान उनी घरबाट निस्केका थिए । तर भण्डारी यतिका दिनसम्म न परिवारको सम्पर्कमा आए, न त आफन्तकैमा पुगे ।
धादिङको गजुरी गाउँपालिका ५ छापगाउँ घर भएका भण्डारी २०६१ साल यता गोरखाको दश किलो नजिकै देउराली गाउँमा बस्दै आएका थिए । देउरालीकै कविता कुमालसंग बिहे भएपछि धादिङ छोडेर उनि ससुराली नजिकै घर बनाएर बस्दै आएका थिए ।
माओवादीमा भुमिगत भएका उनीहरु वीच मायाँ सम्बन्ध बसेपछि अन्तरजातिय प्रेम विवाह भएकाे आफन्तहरु बताउँछन् ।
तर, १९ दिनअघि परिवार र आफन्तको सम्पर्कबाट टाढिएका भण्डारी कहाँ गए ? सबैको चासो र खोजीको बिषय बनेको छ ।
झण्डै ३ हप्ता हुन लाग्दा समेत उनी फेला नपरेपछि अहिले भण्डारीका आफन्तले घटनाप्रति बिभिन्न आशंका समेत गर्न थालेका छन् । ‘हामी भतिज हराएपछि खोजीका लागि निवेदन लिएर गोरखा प्रहरीमा पुग्यौ, तर त्यहाँ सुरुमा त हाम्रो जाहेरी लिदै लिइएन’ वेपत्ता भण्डारीका काका जितबहादुर भण्डारीले सिभिलखबरसंग भने ‘जबरजस्ती जाहेरी त दियौ तर हामीले जाहेरीमा लेखेका केहि कुरा मेट्ने सर्तमा ।’
जितबहादुरका अनुसार प्रहरीले घटनाको अनुसन्धान र छानविनमा वेवास्ता गरिरहेको छ । ‘मेरो भतिज हराएका होइनन, हराइएका हुन त्यसमा बिभिन्न शंकास्पद बिषय छन’ जितबहादुर भन्छन ‘प्रहरीले जाहेरी लिन आनाकानी गर्नु र यतिका दिनसम्म भतिज नभेटिनु अनि अनुसन्धान र खोजी नहुनुले धेरै विषय उब्जाएका छन्, प्रहरीबाट यस्तो ब्यवहार हुन्छ भन्ने हामीले चिताएका पनि थिएनौ ।’
भण्डारी भदौ ३० गतेदेखि परिवारको सम्पर्कमा नरहेको तर भोलीपल्ट ३१ गते दिउँसो करिब २ बजे स्थानीय मोतिलाल कुमालले माछा मार्न जादा नजिकैको सिम्रीखोलामा भण्डारीको चप्पल, मोबाइल, क्याप टोपी र १ सय २० रुपैया भेटाएका थिए ।
सो लगत्तै गाँउका स्थानीय र १२ किलो चौकीका प्रहरी समेतले भण्डारीको दरौदी नदि आसपासमा खोजी गर्दा फेला नपरेको उनका ससुरा टोपबहादुर कुमाल बताउछन ।
‘हराएको भोलीपल्ट गाउँका एक जनाले खोलाको किनारमा उनको सामान भेटाएछन, त्यसपछि मैले नै प्रहरीलाई फोन गरे, सबैलाई बोलाएर दरौदी नदिको ३ किलोसम्म पुग्यौ, केहि पत्तो लागेन’ ससुरा कुमालले भने ‘भोली पल्ट मै गएर उजुरी पनि दिए, तर प्रहरीले अनुसन्धानमा खासै चासो देखाएन ।’
१९ दिनसम्मपनि भण्डारी फेला नपरेपछि त्यसक्षेत्रका जनप्रतिनिधी समेत शनिबार देउरालीमा भेला भएर घटनाको बिषयमा जानकारी लिएका छन् ।

गोरखा क्षेत्र नम्बर २ ‘क’ का सांसद हरिशरण आचार्यले घटनामा प्रहरीले सकृयता देखाउनुपर्ने बताउछन् । ‘एउटा नागरिक यतिका दिनसम्म हराउदा प्रहरीले वेवास्ता ग¥यो भन्ने बिषय सुन्दा अचम्मित भए’ आचार्यले सिभिलखबरलाई भने ‘घटना घटाइएको हो या घटेको हो, सत्य कुरा बाहिर ल्याउन प्रहरी कसैको दवावमा पर्नु हुदैन, छिटो छानविन गरेर पिडितलाई न्याय दिनु जरुरी छ ।’
गोरखा नगरपालिका १२ का वडाध्यक्ष डिलबहादुर थापा समेत प्रहरीको ब्यवहारप्रति सन्तुष्ट छैनन् । ‘प्रहरीले पिडित पक्षको जाहेरी लिनै आनाकानी गर्नुले घटनालाई थप रहस्यमय बनायो’ वडाध्यक्ष थापाले भने ‘हाम्रो साहारा भनेको पुलिस हो, सत्य कुरा के हो छिटो बाहिर आउनु जरुरी छ ।’
यता जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडा भने आफन्त र जनप्रतिनिधीले लगाएको आरोपमा सत्यता नरहेको बताउछन । ‘घटनामा प्रहरीले कसरी अनुसन्धान गर्ने र गर्छ भन्ने कुरा हल्ला गरेर प्रचार गर्नु आवश्यक हुदैन, यसले त झनै छानविनमा असर गर्न सक्छ’ उनले भने ‘हामी अनुसन्धानकै क्रममा छौ, यो बिषय टुंगिएको छैन त्यसैले अहिले धेरै कुरा नबोलौ ।’
