महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा सक्रिय सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरुप दिएको छ।
यी संघ संस्थाहरु नेपालका दुर्गमसहित विभिन्न ३० जिल्लामा छरिएर रहेका छन्। राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको हो ।
यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका दूतावासले जनाएको छ।
एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस जडान गरिएको छ। शुक्रबार ६ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बससहित हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको जनाएको छ।
विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहारस्वरुप दिँदै आएको छ। सन् १९९४ देखि अहिलेसम्म भारतीय राजदूतावासले नेपाललाई झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराएको छ।
यस्तै महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।