काठमाडौँ । दुई जना कोरोना संक्रमितको शुक्रबार एम्बुलेन्समै मृत्यु भएको छ ।
संक्रमण पुष्टि भएपछि उपचारका लागि विराट मेडिकल कलेज लगिएका सुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको एम्बुलेन्समै मृत्यु भएको हो ।
मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार दुवै जनाको अस्पताल आउँदा आउँदै बाटोमा मृत्यु भएको हो ।
उनका अनुसार मृतक मध्ये एकजना सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुष हुन् ।
इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए । मृतक वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।
सिराहाका मृतक पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो ।