गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा मन्त्रीद्वयले बाढी प्रभावित परिवारका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिएका थिए।
अवलोकनपछि स्थानीयवासी, जनप्रतिनिधिलगायत सहभागी रहेको कार्यक्रममा भनाइ राख्दै मन्त्री गुरुङले बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।पुनःनिर्माणको कार्य अघि बढाउन बुर्तिबाङमा भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गरिने मन्त्री गुरुङले बताए ।
बुर्तिबाङ–ढोरपाटन सडकको स्तरोन्नतिका लागि सङ्घ सरकार र सालझण्डी–ढोरपाटन आयोजनासँग मिलेर काम थालिने उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी ढोरपाटनसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने र सोका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने मन्त्री गुरुङले बताए ।
विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन र राहत कार्यक्रमलाई पनि प्रभावकारी बनाउन प्रदेश सरकारले सघाउने विश्वास दिलाए । भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गर्न नगरपालिकाले भवन उपलब्ध गराउने र खर्च प्रदेश सरकारले व्यवस्थापन गर्ने गरी छलफल भएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।
गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका– ९, ८, ७, ६ र ५ प्रभावित छ । सबैभन्दा ठूलो जनधनको क्षति वडा नं ९ मा भएको छ । बाढीले सडक, खानेपानी, विद्युत्, सिँचाइ आयोजना, विद्यालय, स्वास्थ्यचौकी, पुललगायत दर्जनौँ भौतिक संरचनामा क्षतिग्रस्त छन् ।
बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ । बाढीमा परी २२ को ज्यान गएको छ भने १५ जना अझै बेपत्ता छन् । सङ्घ सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरिसकेको छ ।रासस