गोरखा । आफ्नै नीजि जग्गामा रहेका रुखहरु प्रयोग गर्न पाउनुपर्ने कृषकहरुले माग गरेका छन् । बिहिबार गोरखा नगरपालिका ८ को आम डाँडाँमा भएको साँसदहरु सहित पारिवारिक नीजि वन संघ गोरखाको टोलीको अनुगमनका क्रममा नीजि वनका कृषकहरुले आफुले पालेको वनको उपभोग गर्न पाउनुपर्ने माग गरेका हुन ।
‘हामीले आफ्नो बारीमा रहेका रुख पनि प्रयोग गर्न नपाउने हो भने के का लागि रुख हुर्काउने त ?’ प्रतिप्रश्न गर्दै आमडाँडाँका स्थानीय विश्व कुवँरले भने ‘भएको काठ बारीमा सडेर गएका छन, घर बनाउन आल्मोनियम लगाउनुपर्ने बाध्यता अब कहिलेसम्म ब्यहोर्ने ?’
आमडाँडाँकै ज्ञान बहादुर कुवँरले करिब एक सय रोपनीमा बर्षौअघि बिभिन्न प्रजातीका विरुवा रापे । तिनै विरुवा अहिले बढेर ठूला ठूला रुख बनेका छन् । आफ्नै बारीमा चिलाउने, कटुस, साल लगायतका रुखको जंगल बनाएका कुवँरको पनि पिडा उस्तै छ, भन्छन ‘बारी नै भएको भए बरु अन्न त फल्थ्यो, बारीभरी रुख रोपियो अहिले निल्नु न ओकल्नु भयो ।’
पारिवारिक नीजि वन संघ गोरखाले बिहिबार आमडाँडाँको एक नीजि वन भित्रै जनप्रतिनिधी, पत्रकार सहित कृषकहरुसंग अन्तरकृया कार्यक्रम आयोजना गरेको थियो । संघका जिल्ला अध्यक्ष भरत कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा क्षेत्र नम्बर २ ख का साँसद प्रकाशचन्द्र दवाडीको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपालको विद्यमान वन कानून अनुसार व्यक्तिको स्वमित्वमा रहेका जग्गामा उम्रिएका बोटविरुवा पनि विना इजाजत प्रयोग गर्न पाइदैन । उक्त कानूनले नेपाली जनतालाई गरिब बनाएको पारिवारीक निजि वनका अभियान्ताहरुको ठहर छ ।
खेर गइरहेको जमिनलाई सदुपयोग गरेर लाखौं आम्दानी गर्न सक्ने अबस्थामा रहेपनि सरकारी प्रतिबन्धका कारण किसानहरु मर्कामा रहेको पारिवारिक निजि वन संघका अध्यक्ष भरत कट्टेलले बताए ।
कार्यक्रममा बोल्दै साँसद दवाडीले मापदण्ड तोकेर आवस्यकता अनुसार नीजि रुख प्रयोग पाउनुपर्ने बताएका छन् । ‘आफ्नै बारीको फल पनि टिप्न नपाउनु कृषकका लागि पिडा हो’ दवाडीले भने ‘यो बिषय सँसदमा उठाउछौ, सरकारलाई दवाव दिन्छौ, नीति बनाएर हुन्छ या संशोधन गरेर, जसरी पनि यो समस्या हल हुनुपर्छ ।’
्त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ क का साँसद हरिशरण आचार्यले केन्द्र सरकारको हस्तक्षेपकारी भुमिकाका कारण समाजका हरेक निकायमा समस्या पैदा भएको तर्क गरे । किसानका समस्यामा सरकार चुप बस्न नहुने बताउदै उनले ठिक ढंगबाट आवाज उठाएर नीति निर्माण प्रकृयामा दवाव दिनुपर्नेमा जोड दिए ।
‘अब किसानहरु चुप बसेर आफ्नो समस्या दवाउन हुदैन’ साँसद आचार्यले भने ‘आफ्नो बारीमा काठ हुने, बजारबाट आल्मोनियम ल्याएर घर बनाउनुपर्ने, यो जत्तिको पिडा के हुन्छ ?’ उनले प्रश्न गरे ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले नीजि वनलाई उपभोग गरेर किसानलाई सम्मृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए । गोरखा नगरपालिकाका उपप्रमु्ख विना कुमारी श्रेष्ठले सरकारले कृषकका मागलाई सम्बोधन हुने गरी विकल्प खोज्नुपर्ने बताइन् ।
कार्यक्रममा पारिवारिक नीजि वन संघका केन्द्रिय कोषाध्यक्ष राजेन्द्र भट्ट, गोरखा नगरपालिका ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्री, नेपाल पत्रकार महासंघ गोरखाका सचिव नरहरी सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछाने लगायतले बोलेका थिए ।