गोरखा । मुस्लिम समुदायका ब्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भए आफ्नै रीति र संस्कार अनुसार अन्त्यष्टी गर्न पाउने निर्णय भएको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा बसेको जिल्ला कमाण्ड पोष्ट तथा कोभिड १९ क्राइसिस मेनेजमेण्ट सेन्टर अपरेशनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बुधबार मुस्लिम समुदायले संक्रमणका कारण मृत्यु भएमा आफ्नै संस्कार अनुसार कबरस्तान (समाधिस्थल) मा सरकारी स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नै अन्त्यष्टी गर्न पाउनुपर्ने माग गर्दै प्रजिअ भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए ।
सोहीका आधारमा आज बसेको बैठकबाट संक्रमणका कारण मृत्यु भए धार्मिक परम्परा अनुसार नै अन्त्यष्टी गर्न दिने निर्णय भएको प्रजिअ भट्टराईले सिभिलखबरलाई बताए ।
बैठकले शव ब्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यबिधी २०७६ को दफा ४ र ५ का आधारमा सम्बन्धित धर्मावलम्बीहरुको परम्परा अनुसार सम्बन्धित स्थानमै विशेष सुरक्षा अपनाई अन्त्येष्टी गर्न दिने निर्णय गरिएको उनको भनाई छ ।
त्यस्तै अन्य समुदायको समेत माग आएमा सोही अनुसार नै ब्यवस्था मिलाउने निर्णय बैठकले गरेकाे छ ।

मंगलबार गोरखा सदरमुकाममा भएको मुस्लिम अगुवाहरुको भेलाले अन्त्येष्टीका लागि जिल्लाका चार स्थान छनौट गरेका थिए ।
जसमा गोरखा नगरपालिका वडा नम्बर २ को गाइखुर, आहाले भञ्ज्याङ्ग, गण्डकी गाउँपालिकाको बादरेघाट र पालुङ्गटार नगरपालिकााको डुम्रेडाँडाँ रहेको बताइएको छ ।
बुधबार प्रजिअ भट्टराईलाई ज्ञापन पत्र बुझाउन गोरखा नगरपालिका २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, महिबुब मियाँ, जमिल मियाँ लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
