• शुक्रबार, साउन १५ २०८३

कोरोनाका कारण कसैको मृत्यु भए आफ्नै रीति अनुसार अन्त्यष्टी गर्न पाउनुपर्ने माग


बुधबार, असोज १४ २०७७
1.6K
Shares

गोरखा । कोरोना संक्रमणका कारण कसैको मृत्यु भए आफ्नै संस्कार अनुसार अन्त्यष्टी गर्न पाउनुपर्ने गोरखाका मुस्लिम समुदायले माग गरेका छन् ।

बुधबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाउदै उनिहरुले संक्रमणका कारण कसैको मृत्यु भइहाले आफैले निर्धारण गरेको जग्गामा आफ्नै सँस्कार र रीति अनुसार अन्त्येष्टी गर्न पाउनुपर्ने माग गरेका हुन ।

ज्ञापनपत्रमा उनिहरुले अन्त्यष्टी गर्दा सरकारले तोकेको सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

मंगलबार सदरमुकाममा भएको मुस्लिम अगुवाहरुको भेलाबाट जिल्लाका चार स्थानमा अन्त्यष्टीका लागि जग्गा समेत पहिचान गरिएकाले प्रशासनबाट अनुमती दिन माग गरिएको गोरखा नगरपालिका २ का वडाध्यक्ष रहमतुल्ला मियाँले सिभिलखबरलाई बताए ।

संक्रमितको शव ब्यवस्थापनमा सरकारले तोकेको मापदण्ड भित्रै रहेर कबरस्तान मै अन्त्यष्टीका लागि समुदाय तयार रहेको समेत ज्ञापन पत्रमा भनिएको छ ।

मुस्लिम समुदायले जिल्ला भरका मुस्लिम समुदायलाई पायक पर्ने ४ स्थानका कबरस्तानमा संक्रमितको शव ब्यवस्थापन गर्न सकिने बताएका छन ।

जसमा गोरखा नगरपालिका वडा नम्बर २ को गाइखुर र आहाले भञ्ज्याङ्ग त्यस्तै गण्डकी गाउँपालिका ८ को बाँदरेघाट र पालुङ्गटार नगरपालिका ३ को डुम्रीडाँडाँमा शव ब्यवस्थापन गर्न पाउनुपर्ने मुस्लिम समुदायको माग छ ।

ज्ञापन पत्र बुझाउन वडाध्यक्ष मियाँ सहित स्थानीय मुस्लिम अगुवाहरु जमिल मियाँ, महिबुब मियाँ जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टाराइले मागका सम्बन्धमा आगामी सिसिएमसी बैठकमा छलफल गरी निर्णय गराउने आश्वासन दिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार