काठमाडौं । कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा लामो समयदेखि बन्द रहेको चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि संचालनमा आउने भएको छ ।
कोरोनाको कहरका कारण गत बैशाखबाट बन्द भएको शो असोजको तेस्रोसाताबाट प्रसारमा ल्याउने तयारी भएको छ ।
हाँस्य श्रृंखला ‘जिरे खुर्सानी’बाट ‘मुन्द्रे उपनाबाट परिचित जीतुले ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारका लागि अहिले छायाँकन तयारी गरिरहेको छन् । ‘शोको शनिबार र आइतबार छायाँकन गर्ने तयारी गरिरहेको छु,’ जीतुले भने, ‘छायाँकन सफल भए तेस्रो साताको सोमबारबाट प्रसारमा आउनेछ ।’ केही नयाँ शैलीमा अवको सो ल्याउने आफ्नो योजना रहेको उनले सुनाए ।
यस शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला अध्यक्ष बनेकी छिन् । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शो टेलिभिजनको लोकप्रिय कार्यक्रम मध्य एक हो ।