• बिहिबार, साउन १४ २०८३

गोरखामा एक किसानको ६ सय माछा मरे


मंगलबार, असोज १३ २०७७
715
Shares


गोरखा । गोरखाको एक किसानको पोखरीका विष हालेर ६ सय माछा मारेको पाइएको छ ।

गण्डकी गाउँपालिका–५ दर्बुङका राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको दुईवटा पोखरीमा रहेका करिब ६ सय माछा पानीमा बिष मिसिएका कारण मरेको पशु प्राविधिकले बताएका छन् । पोष्टमार्टम गर्दा माछाको ‘लिभर ड्यामेज’ देखिएको उनीहरुको निष्कर्ष छ । तर पोखरीमा कहाँबाट कसले बिष हालिदियो भन्ने अझै खुलेको छैन ।

तत्कालै स्थानीयले मिलेर पोखरीबाट माछा झिक्दासम्म ३ सय ४० वटा माछा मरिसकेको थियो । ‘पोखरीको सबै पानी फालेर नयाँ पानी हाल्यौ, नमरेका माछा बाँच्छ कि भनेर फेरि पोखरीमा राख्यौ र नुन पनि हालिदियौ तर पछि सबै म¥यो,’ श्रेष्ठले भने । मरेको सबै माछा प्राविधिकको सल्लाह अनुसार खाल्डो खनेर पुरेको उनले जानकारी दिए ।

बुढीगण्डकी पशुपंक्षी तथा कृषि फर्म दर्ता गरेर विगत तीन बर्षदेखि व्यवसायिक रुपमा व्यवसायिक कृषिमा लागेका श्रेष्ठले गत जेठ १२ गते चितवनबाट माउ र माछाको ६ सय भुरा ल्याएर उनले पोखरीमा हालेका थिए ।

उनको पोखरीका माछा ८ सय ग्रामदेखि एक किलोसम्मको भइसकेको थियो ।दशैंमा माछा बेचेर करिव एक लाख नाफा कमाउने उनको लक्ष्य थियो ।

उनले टोल सुधार समिति, वडा कार्यालय र घ्याल्चोक प्रहरी चौकीमा उजुरी दिएका छन् । प्रहरीले घटनाको छानबिन भइरहेको बताएको छ । २८ रोपनी जग्गा भाडामा लिएर श्रेष्ठले आप, लिची, एभोगाडो, केरालगायतका खेती गर्दै आएका छन् ।

कोरोना संक्रमण भएका कारण श्रेष्ठ अहिले होम आइसोलेसनमा छन् । यही असोज ९ गते उनलाई कोरोना देखिएको थियो । घर बाहिर निस्कन नपाउँदा पनि यो समस्या आएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार