लमजुङ — भाउजुको हत्या गरेको अभियोगमा देवर पक्राउ परेका छन् ।
क्व्होलासोंथर गाउँपालिका ९ गिलुङकी ५९ वर्षीया बिमाया भन्ने वुद्धिमाया विकलाई हत्या गरेको आरोपमा देवर नाता पर्ने गिलुङकै ५७ वर्षीय बिलबहादुर विकलाई लमजुङ प्रहरीले पक्राउ गरेको डिएसपी गंगाबहादुर थापाले बताए ।
प्रहरीका अनुसार जग्गासम्बन्धी विवादमा एकल महिला बिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत भदौ २३ गते बुद्धिमाया आफ्नै घरमा शंकास्पद रुपमा मृत भेटिएकी थिइन् । प्रहरी अनुसन्धानबाट घटनाको २३ दिनपछि दोषि देखिएका बिलबहादुरसँगको सोधपुछमा भदौ २० गते राति करिब ९ बजे भाउजु (बिमाया) लाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको इन्सपेक्टर ओमप्रकाश पुनले जानकारी दिए ।