काठमाडौं । पहिलो पटक अभिनेता पल शाह तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एकसाथ फिल्ममा देखिने भएका छन् । निर्माणको तयारीमा रहेको फिल्म ‘रेड वाइन’मा उनीहरु एकसाथ देखिन लागेका हुन् ।
यस अघि कुनै पनि निर्माताले उनीहरुलाई एक साथमा ल्याउन सकेका थिएनन् । निर्माता रमेश एमके पौडेलले भने फिल्म ‘रेड वाइन’मा दुबैलाई एक साथमा ल्याउन सफल भएका हुन् ।
पौडेलले यो फिल्म आफै निर्देशन गर्न लागेका हुन् । प्रेमकथामा बन्न लागेको फिल्ममा पल र साम्राज्ञी पे्रमी जोडीको रुपमा देखिदैछन् । दुबैको प्रेमकथा फिल्ममा उत्कृष्ट हुने निर्माण युनिटको अनुमान रहेको छ ।
फिल्मको छायांकन अमेरिकामा गरिने बताइन्छ । फिल्ममा कथा, गीत समेत निर्देशन पौडेलकै रहनेछ । फिल्मको पटकथा तथा संवाद भने निर्देशक समेत रहेका सविर श्रेष्ठको रहनेछ । पल र साम्राज्ञीसंगै सन्दीप क्षेत्री तथा अमेरिकामा नै बसोबास गर्ने इमिली लामाको अभिनय रहने फिल्म आर्यन फिल्म्स् प्रोडक्सन प्रालि र बोधि एचडी अमेरिकाको ब्यानरमा पासाङ लामा र आर्यन पौडेलको निर्माणमा बन्ने छ ।
कोरोना संक्रमणको अवस्था हेरेर फिल्मको छायांकन दशैं र तिहारको बीचमा गर्ने आफ्नो योजना रहेको निर्माता निर्देशक पौडेलले बताए ।