काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोना संक्रमित भएका छन् ।
राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।
आफूलाई बिहीबार कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेको श्रेष्ठले जानकारी दिए । कोरोना लागेपनि आफू स्वस्थ रहेको उनले बताए ।
हालसम्म परिवारका अन्य सदस्यमा संक्रमण पुष्टि भइनसकेको उनले जानकारी दिए । डेपुटी गभर्नर श्रेष्ठलाई संक्रमण भएसँगै केन्द्रीय बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भएकाको संख्या ३१ पुगेको छ ।
राष्ट्र बैंक श्रोतका अनुसार ३१ कर्मचारी र ती कर्मचारीका आफन्त गरेर हालसम्म ६५ जनामा कोरोना पुष्टि भइसकेको छ ।