काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ ।
कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने संगठनले जनाएको हो । डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा. माइक र्यानले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने दाबी गरे ।
माइक र्यानका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअघि नै थप १० लाख मानिसको मृत्यु हुने सम्भावना उच्च छ । भाइरसको उपचार पद्धतिमा सुधार आइरहेका कारण पछिल्लो समयमा भने मृत्युदर घटिरहेको उनको भनाइ छ ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोभिड–१९ बाट विश्वभर हालसम्म करिब ९ लाख ९३ हजार जनाले ज्यान गुमाइसकेका छन् ।एजेन्सी