• बिहिबार, साउन १४ २०८३

आपसी मनमुटाव हटाउँदै वैवाहिक सम्बन्ध सुमधुर बनाउने, ५ तरिका


आइतबार, असोज ११ २०७७
970
Shares


विवाह भनेको एउटा सामाजिक बन्धन हो । जसमा श्रीमान श्रीमती मात्र नभई उनीहरुको परिवार पनि जोडिएको हुन्छ । विवाह निकै महत्वपूर्ण र सुमधुर सम्बन्ध हो । तर यही सम्बन्ध सुमधुर हुन सकेन भने जीवनमा ठूलो अप्ठेरो आउँछ।

सँगै बसेपछि कहिलेकाहीं कुरा नमिल्नु, विवाद हुनु सामान्य नै हो। पति पत्नीको झगडालाई परालको आगो पनि भनिन्छ। तर यही आगो बेलैमा निभाउन सकिएन भने घर खरानी हुन पनि बेर लाग्दैन।

यसै सन्दर्भमा विज्ञले श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर र बलियो बनाउनेबारे ५ सुझाव दिएका छन्।

१. आपसी कुराकानीमा जोड दिनुहोस्
कुनै पनि असहमतिको अन्त्य संवादबाट मात्र हुन्छ। आफ्ना समस्या, असहमतिबारे आपसमा खुलेर कुरा गर्नुपर्छ। मनमनै गुम्स्याएर राखियो भने समस्या कहिले समाधान हुँदैन। एकअर्काको भावना कहिले बुझिँदैन। तसर्थ आपसी कुराकानीलाई प्राथमिकता दिनुपर्छ।

२. समस्यालाई ठूलो नबनाउनुहोस्
आपसमा ससाना मनमुटाव हुनु सामान्य नै हो। सम्बन्ध ताजा राख्नका लागि यो आवश्यक पनि छ। तर त्यही विषयमा बारम्बार झगडा भइरह्यो भने त्यसले ठूलो रूप पनि लिन सक्छ। तसर्थ यस्तोमा एकअर्काको विचारको सम्मान गर्दै विवाद समाधान गर्ने प्रयास गर्नुपर्छ।

३. घरका काम बाँडेर सँगसँगै गर्नुहोस्
कपडा धुने, भाँडा माझ्ने, घर सफा गर्नेजस्ता घरायसी काममा एकले अर्कोलाई सघाउनुहोस्, सँगसँगै गर्नुहोस्। यस्ता काम एकै जनाले गर्नुभन्दा बाँडेर गर्दा भार पनि पर्दैन र दुई जना नजिकिने अवसर पनि प्राप्त हुनेछ।

४. एकले अर्कोको प्रशंसा गर्नुहोस्
हरेक मानिस प्रशंसा चाहन्छन्, किनकि यसले मन प्रफुल्लित पार्छ। झन् पति पत्नीबीच त एकले अर्कोको तारिफको अपेक्षा गरेका हुन्छन्। एकले अर्कोको राम्रो काम, गुणको खुलेर प्रशंसा गर्दा एकअर्काप्रति सकारात्मक भावनाको विकास हुन्छ। र, ससाना त्रुटिको खासै मतलब हुँदैन।

५. एकअर्कालाई समय दिनुहोस्
एकअर्कालाई प्राथमिकता दिने गर्नुहोस्। आफूले जति प्राथमिकता दियो, आफ्नो पति/पत्नीले पनि उत्तिकै प्राथमिकता दिने गर्छन्। दुवै जनाको विचार एउटै हुन्छ भन्ने हुँदैन, तर एकअर्कोको रुचिको सम्मान गर्दै प्राथमिकता दिँदा सम्बन्ध सुमधुर बन्छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार