काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।
बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।
‘जिउ कटकटी दुख्ने, टाउको दुख्ने समस्या भएपछि स्वाब दिएको थिएँ, रिपोर्ट पोजेटिभ आयो,’महर्जनले भने,‘मेरो सम्पर्कमा रहनु भएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गर्दछु ।’
सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए ।