• बिहिबार, साउन १४ २०८३

७७ बर्षकाे उमेरमा नागरिकता पाउँदा वृद्धा ‘मख्ख’


शुक्रबार, असोज ९ २०७७
1000
Shares

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ यार्साकी ७७ वर्षीय वृद्धाले बल्ल नागरिकता पाएकी छिन् । २००१ जेठ १ गते जन्मिएका असरी घलेले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता लिएकी हुन् ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले घलेलाई नागरिकता प्रमाणपत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

‘उहाँले अहिलेसम्म नागरिकता लिनुभएको रहेनछ । आवश्यक कागजात सहित आउनुभयो,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले भने, ‘हामीले उहाँलाई वंशजका आधारमा नागरिकता प्रमाणपत्र प्रदान गरेका छौं ।’

घलेको १ छोरी २ छोरा छन् । श्रीमानको भने ३ वर्ष अघि नै मृत्यु भएको नाताले आफन्त पर्ने नुर्बु घलेले जानकारी दिए । ‘म पोखरामा बस्थेँ, उहाँले अहिलेसम्म नागरिकता नपाएको भन्ने मैले थाहा पाएँ,’ उनले भने, ‘ताराबहादुर घले भन्ने उहाँको छोरा पनि पोखरामै बस्नुहुँदो रहेछ ।

मैले कन्ट्याक्ट गरेर पत्ता लगाएँ । अनि गोरखा आएर बज्यैको नागरिकता बनाएको हो ।’ रोजगारीको शिलशिलामा ताराबहादुर १७/१८ वर्ष देखि पोखरा बस्दै आएका छन् । अन्य छोराछोरी पनि आफ्नो सुरु गरी हिडेपछि बुढाबुढी मात्रै गाउँमा बस्दै आएका थिए । बुढाको मृत्यु भएपछि तीन वर्ष यता उनी गाउँमा एक्लै रहेको स्थानीयहरुले बताएका छन् ।

गाउँ देखि बोकाएर २ दुई दिनमा उनलाई सदरमुकाम ल्याई पु¥याइएको हो । सदरमुकाम ल्याएर नागरिक बनाई गाउँ लैजान मात्र १५ हजार भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको नुर्बुले बताए । गाडीभाडाको लागी गाउँपालिकाले समेत ५ हजार उपलब्ध गराउने बताएको छ ।

नागरिकता पाएपछि वृद्धभक्ता पाइने भयो भन्दै उनी खुसि भएकी छिन् । भाषाको समस्या, आवतजावतमा कठिनाइँ, नागरिकताको महत्व कम लगायतका कारणले उत्तरी गोरखाका धेरै सर्वसाधरणले समयमै नागरिकता नबनाउने गरेको सरोकारवालाहरु बताउँछन् । धार्चे र चुमनुब्रीमा अझै नागरिकता नबनाउनेको संख्या धेरै रहेको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार