काठमाडौँ । कोरोना संक्रमणबाट डडेलधुरा जिल्लामा एक जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।
डडेल्धुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो । शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले बताए ।