• बिहिबार, साउन १४ २०८३

दुईदिनदेखि निरन्तर बर्षात, जनजीवन प्रभावित


बिहिबार, असोज ८ २०७७
1.2K
Shares

गोरखा । मंगलबार राती देखि अबिरल रुपमा परेको झरीले जनजीवन प्रभावित भएको छ । गोरखा र आसपासमा बुधबार अबेरसम्म अबिरल वर्षा भएको थियो ।

झरीका कारण जरुरी कामले हिड्नु पर्ने सर्वसाधरणको सामान्य चलपल रहेपनि बजार सुनसान देखिन्थ्यो । फाट्फुट चलेका सार्वजानिक सवारी साधनमा पनि यात्रु ज्यादै कम रहेका बस व्यवसायीहरुले बताएका छन् ।

कतिपय ग्रामिण क्षेत्रमा भने झरीले बाटो हिलो हुँदा गाडी छुट्न सकेनन् । वर्खा सकिन लागेपनि गोरखाका अधिकाशं ग्रामिण सडक मर्मत नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन ।

मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार