काठमाडौँ —‘हिउँचितुवा’ का नामले विश्वभर कहलिएका कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।
शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।
सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तीझैं बनेका आरोही शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो । बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो ।
आङरिता २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा जन्मिएका थिए ।