गोरखा । जिल्लाका २८ कोरोना संक्रमित एकै दिन घर फर्किएका छन् । जिल्ला अस्पतालले दिएको जानकारी अनुसार मंगलबार ७ महिला र २१ पुरुष कोरोना मुक्त भएका छन् ।
उनीहरु मध्ये गोरखा नगरपालिका वडा नम्बर ६ का १, ७ का ६ र १३ का १ गरी कुल ८ जना रहेका छन । पालुङटार नगरपालिका वडा नम्बर ५ का १ र सिरानचोक गाउँपालिका ६ का २ जनालाई पनि डिस्चार्ज गरिएको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।
भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का १ र ८ का ४ गरी कुल ५ जना रहेका छन् । यसैगरी बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ का २, ४ का २, ५ का १, ७ का ५ र ८ का १ गरी ११ जना कोरोनामुक्त भएका छन् ।
धार्चे गाउँपालिकाको वडा नम्बर ३ का १ जना पनि निको भएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उनीहरु १७ वर्ष देखि ५१ वर्षसम्मका छन् ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पछिल्लो पिसिआर रिर्पोट नगेटिभ आएपछि मंगलबार डिस्चार्ज गरिएको हो । उनीहरुलाई १४ दिनसम्म होम आइसोलेनमा बस्न आग्रह गरिएको छ ।
पछिल्लो समय गोरखाका विभिन्न ठाउँमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ह्वातै बढेको थियो । अब गोरखा क्याम्पसको आइसोलेशनमा २ जना मात्र संक्रिय संक्रमति रहेको ढकालले जानकारी दिए ।