गोरखा । सेवा प्रवाह सम्बन्धि गोरखा नगरपालिकाको एउटा तस्विर मंगलबार सामाजिक सञ्जालमा निक्कै ‘भाइरल’ बन्यो । तस्विर थियो, कार्यालयको दोस्रो तल्लाको टपमा चढेर झ्यालबाट केहि सेवाग्राहीहरुले भित्र कोठामा हेरिरहेको ।
सामाजिक सञ्जालमा नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले समेत पोष्ट गरेको त्यो फोटोका बारे बिभिन्न टिकाटिप्पणी भइरहेका छन । यद्यपी पोष्ट गरेको केहि मिनेटमै उनले सो फोटो भने हटाइसकेका छन ।
नगरपालिकाको कार्यालयले जोखिमपूर्ण रुपमा सेवाग्राहीलाई झ्यालबाट सेवा दिइरहेको भन्ने आरोप केहि फेसबुककर्ताको छ । केहिले भने बिर गोर्खालीको संज्ञा दिदै ब्यंग्य समेत गरेका छन् ।
के हो फोटोको वास्तविकता ?
भएको के रहेछ भने, मंगलबार बिहान साढे १० बजेतिर नगरक्षेत्रका केहि सेवाग्राही घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिन कार्यालय पुगेका रहेछन । कोरोना भाइरसको जोखिमका कारण सेवाग्राहीलाई भित्र शाखामा पस्न बन्देज लगाउदै नगरपालिकाले निषेधाज्ञा खुलेसंगै मुख्य गेटमै डेस्क राखेर सेवा प्रवाह गरिरहेको रहेछ ।
सोही अनुसार उनिहरुको समेत सोही डेस्कमा फाइल कलेक्सन भएपछि सम्बन्धित शाखामा पु¥याइयो । फाइल पठाइएपछि केहि समय बाहिरै बसेर कुरेका सेवाग्राहीहरु आफ्नो काम भए नभएको अनधिज्ञ भए ।
सेवाग्राही मध्येका एक मंगल बहादुर सार्की भन्छन् ‘फाइल भित्र लगेपछि एक घण्टासम्म कुनै जानकारी आएन, आफुलाई हतार थियो’ वडा नम्बर ५ का सार्कीले भने ‘गेटबाट भित्र जान नपाइने रहेछ, म त टपमै चढेर झ्यालमा सोध्न पुगेँ’
झ्यालबाट सेवा लिन भन्दापनि आफ्नो काम के भयो भनेर सोध्न आफु जबरजस्ती त्याहा गएको उनको भनाई छ । सोही फोटोमा देखिएका अर्का सेवाग्राही तारा सुनार समेत अरुको लहैलहैमा लागेर आफुपनि गएको बताउछिन ।
‘घरमा पसल बन्द गरेर गएको थिएँ, ढिलो भयो, काम छिटो गर्दिनु भन्न झ्यालमा गएँ’ नारेश्वर घर भएकी सुनारले भनिन ‘सरहरुले त नजानु भनेका थिए, मै जबजस्ती गएको ।’
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त समेत सेवाग्राहीहरुलाई त्याहा जान कार्यालयले बाध्य नपारेको दावी गर्छन । कोरोना भाइरसको जोखिमलाई ध्यान दिएर हरेक शाखाको सेवा प्रवाह सहज बनाउन गेटमा डेस्क राखेको बताउदै अधिकृत पन्तले कर्मचारीले नदेख्ने गरी सेवाग्राही त्याहा पुगेको बताउछन ।
‘हामीले त सेवाप्रवाह गेटबाटै हुने गरी डेस्क राखेर मिलाएका छौ, झ्याल झ्यालमा जानुपर्ने अवस्था नै छैन’ उनले भने ‘त्यो झ्याल मुख्य गेट भएकै तल्लामा हो, तल अण्डरग्राउण्ड छ, टपमा पनि तस्विरमा देखिएजस्तो असजिलो भने छैन ।’