?
काठमाडौं । विश्वभर फेलिरहेको कारोना भाइरसको महामारीकाबीच सरकारले सबै कर्मचारीलाई कार्यालय बोलाएको छ। कोरोनाको महामारीसँगै अपनाएको आलोपालो प्रणालीलाई खारेज गर्दै नियमित रुपमा कार्यालयबाटै सेवा प्रवाह गर्ने सरकारले निर्णय गरेको हो ।
सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालय सञ्चालन गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सबैकर्मचारीले कार्यालयमा हाजिर भइ काम गर्ने बताए । उनले सबै सेवा सञ्चालनमा आएकाले कर्मचारीको कार्यालयबाटै कार्य सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
यसअघि अपनाइएको आलोपालो प्रणाली प्रभावकारी नभएको मन्त्रालयले जनाएको छ। सरकारले पहिलो लकडाउनको ४ महिनाको अवधिलाई सार्वजनिक बिदामा रुपान्तरण गरेको भएपनि पछिल्लो निषेधाज्ञा र लकडाउनमा आधाले कार्यालयबाट र आधारले घरबाटै काम गर्ने व्यवस्था मिलाएको थियो। तर त्यो व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको थिएन।
प्रवक्ता अधिकारीले साह्रै अफ्ठ्यारो भए कार्यालय प्रमुखको तजबिजमा घरबाट काम गर्ने व्यवस्था मिलाउन सकिने पनि जानकारी दिए। देशभर करिब ८९ हजार निजामती कर्मचारी कार्यरत छन्।