चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिन थालेको छ।
अस्पतालले र्यापिड एन्टिजेन टेस्ट मार्फत छिटो नतिजा दिन आइतबारदेखि सो सेवा सुरुआत गरेको हो। यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ।
कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २ सय ९२ जनाको कोरोनाको पीसीआर परीक्षण गरेको छ। तीमध्ये ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
कलेजले गत भदौ ३ गतेबाट पीसीआर परीक्षण थालेको हो। कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार संक्रमितमध्ये ५ सय ५६ जना पुरुष र ३ सय ९७ जना महिला रहेका छन्। कूल संख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो।
संक्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ। अस्पतालले २ सय २१ जना संक्रमितको उपचार गरिसकेको जनाएको छ। हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन्। उनका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ। अन्यको अवस्था सामान्य छ। अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन्।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा। हरिशचन्द्र न्यौपानेले रु चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए। नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उनको भनाइ छ। सरकारको निजी क्षेत्र प्रतिको धारणा सकारात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने उनले जानकारी दिए।
कलेजले हाल रु दुई हजारमात्र लिएर पीसीआर परीक्षण गर्दै आएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिला भएका नमूनाहरुको परीक्षण पनि कलेजले गर्दै आएको छ। स्वास्थ्य बीमा पीसीआर परीक्षणमा लागू भएमा सहज हुने निर्देशक डा न्यौपाने भनाइ छ।
जिल्लामा भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमूना परीक्षणको काम भइरहेको छ। रासस