काठमाडौं । सुरक्षाकर्मीमा संक्रमणको दर बढ्दो क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार साँझको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ३८ प्रहरीमा संक्रमण देखिएको प्रदेश–२ प्रहरी कार्यालयका एक अधिकृतले बताए ।
दश दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनालाई संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप प्रहरीलाई संक्रमण देखिएको हो । सप्तरीमा संक्रमित प्रहरीको संख्या ५८ पुगेको छ
तीमध्ये २५ जना जिल्ला प्रहरी कार्यालयकै आइशोलेशनमा छन् । अन्यलाई गजेन्द्र नारायण सिंह मेमोरियल अस्पतालको आइसोलेशनमा राखिएको छ । संक्रमित मध्ये ८ जना प्रहरी कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन् ।