गोरखा । गोरखामा सामाजिक जवाफदेहिताका औजारहरुका बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा नगरपालिकाको समन्वय तथा सोच नेपालको सहकार्यमा गोरखाका युवाहरुलाई जुम मार्फत भर्चुअल अभिमुखिकरण गरिएको हो ।
केहिबर्षअघिदेखि गोरखामा सञ्चालनमा रहेको नागरिक समाज ः पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत जिल्लाका बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध ३० जना युवाहरुलाई सामाजिक जवाफदेहिताका औजारहरुका बारे तालिम दिइएको आयोजक सोच नेपालले जनाएको छ ।
गोरखा नगरपालिका ५ को द्रब्य शाह रेडियो स्रोता समुहका अध्यक्ष घनश्याम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजिकरण क्षमताविकास विज्ञ गोविन्द पौडेलले गरेका थिए ।
कार्यक्रममा बिभिन्न तहका सरकार, संघसंस्था लगायत हरेक निकायले सञ्चालन गर्ने कार्यक्रम, खर्च गर्ने बजेट, योजना तथा सेवा प्रवाहलाई पारदर्शी, जवाफदेहि बनाउन प्रयोग गर्न सकिने औजारहरुका बारे युवाहरुलाई प्रशिक्षण गराइएको सोच नेपालका जिल्ला संयोजक मोहसिन अलि मियाँले जानकारी दिए ।
सामाजिक परिक्षण, सार्वजानिक सुनुवाई, लेखा परिक्षण, समुदाय अंक पत्र, सुचनाको हक लगायतका औजारहरुको प्रयोग, प्रकृया र कानुनी बिषयमा प्रशिक्षक पौडेलले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।

भर्चुअल कार्यक्रमको समापन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख पन्तले आफ्नो कार्यालयले प्रदान गरेका हरेक सेवा तथा योजनाहरुमा कमजोरी भए प्रश्न गर्न र सच्याउन सकरात्मक दवाव दिन समेत युवाहरुलाई आग्रह गरेका छन् ।
नगरक्षेत्रमा सञ्चालित कार्यक्रम तथा योजना एवं सेवा प्रवाहलाई सुशासनमैत्री बनाउन सोच नेपालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउदै मेयर पन्तले काम गर्दै जादा कमजोरी भए सच्याइदिन आग्रह गरे ।
हरेक गतिबिधीमा नगरपालिकाले नागरिक समाजसंगको सहकार्यलाई प्राथमिकता दिदै आएको भन्दै पन्तले हरेक याेजनाकाे आम्दानी खर्च बिवरण समय समयमा पत्रकार सम्मेलन र फेसबुकका साथै वेबसाइट मार्फत पनि सार्वजानिक गर्ने गरेको जानकारी गराए ।
कामको मुल्यांकन र पारदर्शिताका लागि सञ्चारकर्मी सहितको अनुगमन, सार्वजानिक सुनुवाई लगायतमा समेत नगरपालिकाले बजेट छुट्याउदै आएको उनले बताए ।
अभिमुखिकरण कार्यक्रममा गोरखा नगर युवा सञ्जाल, स्रोता समुह लगायत बिभिन्न युवा क्लब, संघसंस्थामा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।