पर्वत । लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् ।
वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सङ्घ र प्रदेश सरकारमा सिफारिस गरेको छ । सात वटा बस्तीका झण्डै १०० घरपरिवार जोखिममा रहेको भन्दै बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिका अनुसार वडा नं ४ मुडिकुवाको चुरी, वडा नंं १० कुर्घाको फल्ला, वडा नं २ थापाठानाको दरदरे, वडा नं ३ शङ्करपोखरीकोे पुर्कोट, सोही वडाको रुग्दी र वडा नं ६ देवीस्थानको राहले बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको नगरप्रमुख शर्माले जानकारी दिए । अधिकांस बस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन् । सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन् । रासस