Original Title: Aa_FC3_58a.jpg
गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ ।
हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।
कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्र्देशनालयले गत वर्ष पुष १६ गतेदेखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ ।
म्याग्दीमा सबैभन्दा बढी डेङ्गुु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यस अवधिमा म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ । कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक/एक जना डेङ्गुका बिरामी भेटिएका छन् ।
त्यसैगरी बागलुङमा छ, नवलपरासीमा तीन र कास्कीका दुई जनामा स्क्रबटाइफस देखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । डेङ्गुको नियन्त्रण गर्न र सङ्क्रमण फैलिन नदिन स्वास्थ्य संस्थामार्फत ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रमहरु शुरु गरिएको उनको भनाइ छ ।रासस