काठमाण्डाै । तीन सय कैदीलाई छाड्ने तयारी सरकारले गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले कारागारहरूकै सिफारिसमा ती कैदी छाड्ने निर्णय गर्ने भएको हो।
उनीहरूलाई संविधान दिवसका अवसरमा असोज ३ गते कारागार मुक्त गरिने तयारी सरकारले गरेकाे बताइएकाे छ ।
मौजुदा कानुनलाई विचार गरेर छाड्ने कैदीको सूची तयार पारिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए।
वर्षमा तीनपटक ज्येष्ठ नागरिक, ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीलाई बाँकी कैद मिनाहा गर्दै छाड्ने गरिएको छ।
गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसमा कैदीलाई सजाय छुट गरेर जेलमुुक्त गरिन्छ। यसबाहेकका समयमा समेत सरकारले निर्णय गरेर कैदी छाड्न सक्छ।
यसअघि गणतन्त्र दिवसमा २ सय ३३ कैदी छुटेका थिए।