काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउने तयारी गरेका छन् ।
आज विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आएमा भोलिबाटै सेवामा जाने बताएका हुन् ।
व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ ।
सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने सरकारको शर्त छ ।
व्यवसायी र मजदुरले मापदण्ड पालना भए नभएको अनुगमन गर्ने संयन्त्र पनि तयार राख्न सरकारलाई आग्रह गरेका छन् ।