• बुधबार, साउन १३ २०८३

वडाध्यक्षको फेसबुक अभियानले बन्यो अपाङ्गगता भएकाकाे घर, गाउँपालिका अध्यक्षले गरे हस्तान्तरण


मंगलबार, भाद्र ३० २०७७
1.4K
Shares

गोरखा । सामाजिक सञ्जालमा आर्थिक संकलनको अभियान मार्फत गोरखाको बुंकोटका एक अपाङ्घता भएका परिवारको घर निर्माण भएको छ ।

शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठको पहलमा फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत अभियानबाट संकलन भएको रकमबाट सोही वडाका एक अपाङ्घगता भएका परिवारको घर निर्माण भएको हो ।

वडा नम्बर ७ को कोटगाउँका धन बहादुर श्रेष्ठका ६ सन्तान मध्ये एक छोरा र दुई छोरीमा पूर्ण रुपमा अपाङ्घता छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका श्रेष्ठको घर २०७२ सालकै भूकम्पले भत्काएको थियो ।

घर भत्किएपनि पूननिर्माण गर्न हिम्मत नगरेका धनबहादुरलाई वडाध्यक्ष श्रेष्ठले फेसबुकबाटै रकम जुटाएर गाउँमै झण्डै १७ लाख लागतको घर ठड्याइदिएका हुन ।

उनले २०७४ साल फागुनबाट धनबहादुरको घर पुर्ननिर्माणका लागि फेसबुकमा अभियान चलाएको सम्झन्छन । ‘वडाध्यक्ष भएपछि गाउँगाउँ पुग्ने क्रममा मैले उहाँहरुको दुख र कष्टकर जीवन देखेको थिए, त्यसबेलै उहाँहरुलाई घर निर्माणमा सहयोग गर्ने वचन दिएको हो’ वडाध्यक्ष श्रेष्ठले सिभिलखबरसंग भने ‘फेसबुकमा मैले फोटो राखेपछि गाउँका सबैको साथ मिल्यो, पछि छुट्टै समिति नै बनाएर अभियान अघि बढायौं, त्यसकै फल हो यो ।’

करिब २ बर्षको अन्तरालमा धनबहादुरको घर पुननिर्माणका लागि भन्दै बिभिन्न ब्यक्ति तथा संघसंस्थाबाट १४ लाख ८१ हजार ७४ रुपैया रकम संकलन भएको समेत उनले बताए । तर घर निर्माणमा भने १६ लाख ८३ हजार ७ सय ४८ रुपैया खर्च भएको उनले बताए ।

अभियान मार्फत जुटेको सबै रकम बैंक मार्फत घर निर्माण समितिको अगुवाईमा खर्च भएको समेत वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठ भन्छन ‘यो मेरो मात्रै होइन सबैको साझा अभियान हो, सबैको साथ र सहयोगले मात्रै यत्रो रकम जुट्न सम्भव रह्यो ।’

उनले चलाएको यो अभियान शहिद लखन गाउँपालिकाभित्र मात्रै सिमित बनेन । मकाउ, कोरिया, अमेरिकासम्म पनि पुग्यो । देशभित्र मात्रै होइन बिभिन्न देशमा बस्ने शहिद लखन गाउँपालिकाका युवाहरुले रकम संकलन गरेर धनबहादुरको घर निर्माणमा सहयोग गरे ।

अभियानमा रकममा मात्रै सहयोग सिमित बनेन । गोरखा सदरमुकाममा रहेको रणसिं दल गणका नेपाली सेनाले १० दिनसम्म गएर पुर्ननिर्माणमा श्रमदान नै गरेको वडाध्यक्ष श्रेष्ठले सिभिलखबरलाई बताए ।

गाउँपालिका अध्यक्ष थापाले गरे घर हस्तान्तरण

वडाध्यक्ष श्रेष्ठ लगायतको अभियान मार्फत रकम संकलन भई निर्माण भएको घर मंगलबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश थापा मगरले अपांगता भएका परिवारलाई हस्तान्तरण गरेका छन् ।

घर निर्माण समितिका अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अभियान मार्फत संकलन भएको रकम तथा घर पुर्ननिर्माणमा लागेको खर्चको सम्पूर्ण विवरण समेत सार्वजानिक गरिएको बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष थापाले धनबहादुरको परिवारलाई अत्यावस्यक सामाग्री खरिदका लागि गाउँपालिकाबाट १ लाख रकम सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

त्यस्तै घर पुर्ननिर्माणमा लागेको अपुग २ लाख रकम भने वडाध्यक्ष श्रेष्ठले नै थप सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी, प्र मुख प्रशासकिय अधिकृत जिबनबहादुर आले, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, घर निर्माणमा सहयोग गर्ने अभियान्ताहरु बिष्णुकुमार श्रेष्ठ, अमृत श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, किरण श्रेष्ठ, लगायत राजनीतिक दल, स्थानीयको उपस्थिती थियो ।

अभियानमा संकलन भएकाे रकम र घर पुननिर्माणमा खर्च भएकाे विवरण

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार