नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको विकल्परहित व्यक्ति नभएको बताएका छन्।
प्राधिकरणको चार वर्ष नेतृत्व सम्हालेका उनलाई आज कार्यक्रम गरी विदाइ गरिएको हो। उनले प्राधिकरणमा कुल २६ वर्ष पूरा गरी आजदेखि औपचारिक विदा भएका हुन्।
प्राधिकरणमा अन्य क्षमतावान् व्यक्तिहरु आएर पनि राम्रो गर्नसक्ने उनले बताए। आफुले ४ वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहँदा जस्तोसुकै दबाबको बाबजुद पनि प्राधिकरणको हितमा अडान लिएको बताए।
आफ्नो हितको लागिभन्दा पनि संस्थाको लागि धेरै अडान दिएकै कारणले संस्थाले सफलता पाएको निवर्तमान कार्यकारी निर्देशक घिसिङले बताए।
‘प्राधिकरणमा क्षमतावान् धेरै हुनुहुन्छ, म विकल्परहित व्यक्ति होइन’, उनले भने, ‘अर्को कुरा हामीले सही सूचनाहरु मिडियामा दिने काम गर्यौँ जसले प्राधिकरणले गरेको कामबारे जनताले पनि सुसूचित हुन पाए।’