गोरखा । राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाले गण्डकी गाउँपालिकामा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।
गण्डकी गाउँपालिका वडा नम्बर ८ को घ्याल्चोक स्थित सिउरेनिटारबाट बैंकले एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
बैंकको गोरखा शाखाबाट दिदै आएको सेवालाई गाउँगाउँमा विस्तार गर्ने उदेश्यका साथ सिउरेनिटारमा काउण्टर सुरु गरिएको बताइएको छ ।
काउण्टरले आज आइतबारबाट सेवा सुरु गरेको बैंकका गोरखा शाखाका सहायक प्रवन्धक एवं सुचना अधिकारी सुजन क्याप्छाकी मगरले सिभिलखबरलाई बताए ।
कोभिड १९ को उच्च जोखिमका कारण काउण्टरको उद्घाटन भने तत्काल नहुने उनले बताए । तर काउण्टरबाट प्रवाह हुने सेवा सुविधा भने सुरु गरिएको मगरको भनाई छ ।
काउण्टरबाट नगद जम्मा, राजश्व संकलन, इ बैंकिङ सेवा, पेन्सन, खाता खोल्ने लगायतका सेवा प्रदान हुने बताइएको छ ।
काउण्टरबाट बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुले समेत सेवा लिन सक्नेछन ।
गोरखाको गण्डकी गाउँपालिका लगायत धादिङका बिभिन्न स्थानका बासिन्दा सो काउण्टरबाट लाभ लिने बैंकको विश्वास छ ।