काठमाण्डाै । लकडाउनकाे सुरुवाती चरणसंगै विराटनगरका ओेसिम आलम लगायतकाे समुहले सुरु गरेकाे निशुल्क खाना खुवाउने अभियानले एक सय दिन पुरा गरेकाे छ । विराटनगरका सडक पेटिमा बस्ने गरिब , असहाय तथा मजदुरवर्गहरुलाई खुवाउँदै आएकाे निशुल्क खाना अभियानले एक सय दिन पूरा गरेकाे हाे ।
सामाजिक अभियान्ता आलमले नेतृत्व गरेको अभियानमा २४ जनाभन्दा बढी युवाहरु सक्रिय छन् । बिगत एक सय दिनदेखि कोरोनाको त्रासका बाबजुद युवाहरु सडक पेटिमा बस्नेहरुको भोक मेटाउन खटिरहेका छन् ।
लकडाउनकाे सुरुवाती चरणदेखि नै आलामसहितका युवाले आफ्नै प्रयासमा खाना अभियान थालेका थिए । समूहका संयोजक आलमका अनुसार सुरुका दिनमा समूहका सदस्यहरु मिलेर दैनिक बिहान–बेलुका गरी करिब ४ सय ५० जनालाई निःशुल्क खाना खुवाउन थालिएको थियो ।
‘भोकै कोही नपरून्, भोकले कोही नमरून्’ भन्ने उदेश्यका साथ उनिहरुले एक सय दिनअघि देखि सडकका चाेक चाेकमा पुगेर निशुल्क तयारी खाना वितरण सुरु गरेका थिए ।
विशेषगरी बजार क्षेत्रका पसल, सडक र मठमन्दिरमा बसेर दान लिने, प्लास्टिक र खाली सीसी सङ्कलक गर्ने, अपाङ्गता भएका व्यक्ति, सार्वजनिक यातायात मजदुरलाई लक्षित गरी निःशुल्क खाना अभियान सञ्चालन भएकाे संयोजक आलम बताउछन ।
त्यसबाहेक विराटनगर क्षेत्रमा डेरा गरी बसेका १ सय ६४ विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र बन्दाबन्दीपछि घर फर्किन नपाएर अलपत्र परेका झन्डै ७० जना भारतीय मजदुरलाई समेत यस समूहले खाने, बस्ने व्यवस्थासहित गरेकाे थियो ।
सुरुवाती चरणमा समुहका सदस्यहरु मिलेर आफ्नै रकमबाट अभियान सुरुवात गरेपनि पछिल्लाे समय बिभिन्न अभियान्ताहरुबाट समेत सहयाेग जुट्न थालेपछि केहि सहज बनेकाे उनि बताउछन ।
अहिले उनीहरूलाई तरकारी, चामल, दाल, नुन तेलका लागि समस्या छैन । आलमले सिभिलखबरसंग भने ‘मान्छेहरूले दान गर्न थालेका छन्, पुगेन भने हामी आफैं व्यवस्था गर्छौं’
उनिहरुले चलाएकाे निशुल्क खाना खाने अभियानमा हालसम्म ५० हजारभन्दा बढि नागरिक सहभागी भइसकेकाे बताइएकाे छ ।
पछिल्लाे केहि समययता निषेधाज्ञाको स्वरूप परिवर्तन हुँदै जाँदा खाना अभियानको स्वरूप र शैली पनि परिवर्तन गर्दै लैजाने योजना उनिहरुकाे छ ।



