काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्याउने तयारी गरेको छ ।
कार्यकाल सकिन ३ दिन बाँकी हुंदा घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको स्रोतले जनाएको छ । तर उनको अबको कार्यकाल कति अवधिको हुने भन्नेमा मन्त्रालय अन्योलमा रहेको छ ।
चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार भएको तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली घिसिङलाई दुई वर्षे कार्यकाल दिन तयार भएपनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घिसिङलाई नै चार वर्ष काम गर्न दिनुपर्ने पक्षमा छन् ।
तर विधुत प्राधिकरण ऐनमा कार्यकारी निर्देशकको कार्यकाल चार वर्षे हुने भनेर तोकिएको छ ।
विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन सामाजिक संजालमा चर्को जन दबाब बढेको छ ।