• बुधबार, साउन १३ २०८३

बार्साको टिम प्रशिक्षणमा फर्किए कप्तान मेस्सी


बिहिबार, भाद्र २५ २०७७
685
Shares

सिजनको अन्त्यसँगै क्लब छोड्ने निर्णय गरेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई सोचेजसरी क्लबले जान दिएन।

उनले विना शुल्क क्लब छाड्न पाउनुपर्ने निर्णय कार्यान्वयन गर्न बार्सा बोर्डलाई आग्रह गरे।

तर बोर्डले उनलाई जान नदिनका लागि रिलिज क्लजको अड्को थाप्यो। जुन यो महामारीमा कुनै पनि क्लबले तिर्नसक्ने अवस्था भएन। छन त मेस्सीसँग मुद्दा लड्ने विकल्प पनि थियो। तर जुन क्लबमा उनले जीवन बनाए त्यसैविरुद्ध मुद्दा लड्ने निर्णय सोच्नै सकेनन्।

उनलाई भित्र्याउनका लागि ठूला क्लबहरुले चासो नदिएका पनि होइनन्। तर मेस्सी बाहिरिँदै गर्दा आफूमाथि आउने अपजस बार्सा बोर्डले लिन चाहेन। क्लब अरु जे–जे गुमाउन तयार भयो तर मेस्सीलाई फ्रिमा छाड्न तयार भएन।

यतिसम्म कि मेस्सीलाई बेच्ने विषयमा छलफल नै गर्न तयार भएन। क्लबको यो शैलीबाट खुसी नभए पनि अन्ततः मेस्सी पुनः एक पक पछाडि फर्किन तयार भएकाे समाचार नेपालखबर डटकमले प्रकाशित गरेकाे छ ।

क्लब छोड्ने घोषणा गर्दै पत्र पठाएका मेस्सी क्लबको स्वास्थ्य परीक्षण र प्रशिक्षणमा पनि सहभागी नहुने जानकारी गराए। प्रशिक्षण सुरु गर्नुपहिले क्लबले सबै सदस्यको कोरोना परीक्षण गरेको थियो।

जसमा बार्साले नै विदा गर्न चाहेका र विदाइको संघारमा पुगेका अर्टुरो भिडाल र लुइस सुवारेज पनि सहभागी भए। तर मेस्सी आएनन्।

मेस्सीको यो निर्णयले उनको बार्सा बसाइ लगभग बिट मार्ने अनुमान गरिएको थियो। तर सहजै बाहिरिने बाटो पनि बनिसकेको थिएन।

मेस्सीका पिताले क्लबसँग वार्ता गरे। जुन वार्तापछि मेस्सी मोडिन बाध्य भए र यो सिजन बार्सामै रहने निर्णय सुनाए।

बार्सा फर्किए पनि मेस्सी कोरोना परीक्षण नभएका कारण छुट्टै प्रशिक्षण गरिरहेका थिए। लोनबाट फर्किएका फिलिप कौटिन्हो र उनलाई समूहमा मिसाइएको थिएन।

दुवैको कोरोना परीक्षणको रिपोर्ट आएपछि अन्ततः बुधबारबाट समूहमै प्रशिक्षण थालेका छन्।

प्रशिक्षणमा फर्किएका मेस्सी क्लबसँग खुसी छैनन्। पहिलेदेखि टिममा गर्नुपर्ने सुधार धेरै रहेको र बोर्डले चासो नदिइरहेको बताएका मेस्सीले यस पटक सार्वजनिक रुपमै भनेका छन्।

क्लबसँग रुस्ट मेस्सी मात्रै होइनन्। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले सिनियर खेलाडीहरुलाई विदा गर्ने भनिसकेका छन्। मिडफिल्डर राकिटच त सेभियामा अनुबन्ध नै भइसकेका छन्।

तर नयाँ खेलाडी ल्याएर उठ्ने योजना बनाइरहेको बार्साले ल्याउने खेलाडी तय भइसकेको छैन। र, यो दिनदिनै ढिलो भइरहेको छ। नयाँ प्रशिक्षक, असन्तुष्ट कप्तान र विवादले घेरिएका बोर्ड अध्यक्ष बर्टामेउले नयाँ सिजनमा कस्तो बार्सिलोना बनाउने हुन् उस्तै अन्योलमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार