स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित संख्या ४० हजार पुग्दासम्म व्यवस्थापन गर्न सकिने जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ४० हजार सक्रिय संक्रमित पुगिञ्जेल अस्पतालहरूमा बेड अभाव नहुने जानकारी गराएका हुन्।
उनले अस्पतालहरुमा बेड संख्या बढाएकाले संक्रमित संख्या बढी हाले पनि तत्काल समस्या नआउने जनाए।
‘अस्पतालहरूमा आइसोलेसन, आइसियू र भेन्टिलेटर बेडको संख्या पनि बढाइएको छ। त्यसैले सक्रिय संक्रमित संख्या ४० हजार पुग्दासम्म व्यवस्थापन गर्न सकिने अवस्था छ,’ उनले भने।
बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार बढी छ। जसको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ। अधिकांश संक्रमितहरू भने होम आइसोलेसनमा छन्।
सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका संक्रमितहरूलाई घरमै होम आइसोलेसनमा बस्न सकिने जनाएको छ।