गोरखा । पालुङटार नगरपालिकाका एक वडाध्यक्षले विद्युत प्राधिकरणका कर्मचारीमाथी हातपात गरेका छन् ।
पालुङटार ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले नेपाल विद्युत प्राधिकरण गोरखा अन्तरगत पालुङटार क्षेत्र हेर्ने फोरम्यान पदका सञ्जय खड्कालाई हातपात गरेका हुन ।
वडाध्यक्ष श्रेष्ठले वडा नम्बर ७ को बिरुवाटार स्थित खाजा पसलमै गएर कर्मचारी खड्कालाई हात हालेको प्रत्यक्षदर्शीले सिभिलखबरलाई बताए ।
यता विद्युतका कर्मचारी समेत वडाध्यक्षबाट आफुलाई दुब्र्यबहार भएको स्विकार्छन ।
‘म साइट हेरेर फर्किदा बिरुवाटारको एउटा खाजा पसलमा नास्ता गर्दै थिए’ खड्काले टेलिफोनमा भने ‘उहाँले त्याही आएर अलि नराम्रो गर्नुभयो ।’
उनका अनुसार आफुले वडाध्यक्षले भनेअनुसार काम गर्न नसकेका कारण त्यस्तो ब्यवहार खेप्नुपरेको दुखेसो छ ।
यता वडाध्यक्ष श्रेष्ठ भने ति कर्मचारीले आफुलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेका कारण त्यो अवस्था सृजना भएको बताउछन ।
‘मैले फोन गर्दापनि नउठाउने, भनेको काम नि नगर्ने, भेट्दा अपशब्द बोल्ने’ वडाध्यक्ष श्रेष्ठले सिभिलखबरसंग भने ‘पिटेकै चाहि होइन पिट्न खोजेको चाहि हो ।’
विरुवाटारमा वडाध्यक्ष र कर्मचारीबिच असमझदारी उत्पन्न भएपछि नजिकै रहेको च्यांली प्रहरी चौकीमा उनिहरुको बिवादबारे प्रहरीले छलफल गराएको थियो । छलफल पश्चात दुवै पक्षले गल्ति स्विकार गरी मिलापत्र गरेको चौकी इन्चार्ज कृष्ण घर्तिले जानकारी दिए ।
यता विद्युत प्राधिकरण गोरखाका प्रमुख माधव न्यौपाने भने सामान्य वादविवाद भएको जानकारी कर्मचारी र वडाध्यक्षबाट प्राप्त भएको बताउछन ।