गोरखा । १७ बर्षअघि देखि प्यारलाइसिस भएर थला परेकी बृद्धालाई कोरोना संक्रमण देखिएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ७ धारापानीकी ६६ बर्षिया बृद्धालाई मंगलबार कोरोना पोजेटिभको रिपोर्ट आएको हो । गत शुक्रबार उनको छिमेकी ३ जनालाई कोरोना देखिएपछि उनको समेत कन्ट्याक्ट ट्रसिङ गरी स्वावको नमुना लिइएको थियो ।
शनिबार उनिसहित ४४ जनाको नमुना लिएकोमा मंगलबारसम्म १८ जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले सिभिलखबरलाई बताए । जसमा एक जना ७५ बर्षिया बृद्धाको कोरोनाकै कारण शनिबार मृत्यु भएको थियो ।
तर सत्र बर्षदेखि एउटै ओछ्यान परेकी बृद्धालाई कोरोना कसरी सर्यो भन्ने बिषय अहिले सबैको कौतुहलता बनेको छ ।
छिमेकी बृद्धा (कोरोनाबाट शनिबार मृत्यु भएकी) लाई केहि हप्ताअघि उपचारका लागि चितवन लगेर घर फर्काइएपछि पिसिआर परिक्षण गराउदा उनका दुई छोरा र एक बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यस लगत्तै ति मृतक बृद्धा सहित ४४ जनाको पिसिआर परिक्षण गराउदा उनिसहित परिवारका १२ जनामा कोरोना देखिएको थियो । चितवनमा उपचार गरेर फर्किएकी ति बृद्धालाई भेट्न धारापानी क्षेत्रका अन्य छिमेकी उनको घरमा पुग्ने गरेका थिए ।
चितवनबाट उपचार गरेर फर्किएपछि होम क्वारेनटाइनमा समेत नबसेका ति परिवारको सम्पर्कमा सयौ ब्यक्ति पुगेको अनुमान स्थानीय कै छ ।
ति बृद्धा (मृतक) लाई भेट्न गएकी एक आफन्त १७ बर्षदेखि थला परेकी महिलालाई समेत भेट्न गएको पाइएको छ । तर आश्चर्यको बिषय चाहि के छ भने ति भेट्न गएकी महिलाको भने कोरोना नेगेटिभ आएको बताइएको छ ।
‘खाएको बिष पो लाग्छ भन्थे तर यहाँ त उल्टो भयो’ परिवार निकट एक सदस्यले सिभिलखबरलाई भने ‘जो १७ बर्षदेखि एउटै ओछ्यानमा हुनुहुन्छ उहाँलाई कोरोना देखिएपछि हामी आश्चर्यमा मात्रै होइन अफ्टेरेमा पनि परेका छौ ।’
प्यारलाइसिस रोगबाट पिडित बनेकी ति बृद्धालाई अस्पताल वा गोरखा क्याम्पसको आइसोलेसनमा लैजाने अवस्था समेत नभएको परिवार बताउछ ।
तर कोरोना पोजेटिभ आएपछि घरमा उनको स्याहार सुसारमा समेत समस्या भएको छ । उनको संगै पिसिआर गरेका परिवारका अन्य सदस्य सबैको कोरोना रिपोर्ट भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।